ताजा समाचार
लेटाङमा विकास र सेवा सुधारबारे नागरिक–जनप्रतिनिधि संवाद
लेटाङमा विकास र सेवा सुधारबारे नागरिक–जनप्रतिनिधि संवाद
लेटाङ, २७ पुस । लेटाङ नगरपालिकाका जनप्रतिनिधि र नागरिक समाजबीच विकास र सेवा सुधारका विषयमा आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक विकास मञ्च (सीडीएफ) को आयोजनामा लेटाङ नगरपालिका–५ स्थित रेस्क्यु सेन्टरमा आयोजित कार्यक्रममा नगरको समग्र विकास, सेवा प्रवाहको अवस्था र भावी योजनाबारे गहन छलफल गरिएको हो। अन्तरक्रियामा सहभागी नागरिकहरूले दीगो आन्तरिक आय वृद्धि, कृषि बजारीकरण, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, फोहोर व्यवस्थापन, सडक स्तरोन्नति तथा कृषि आधुनिकीकरणजस्ता विषयमा आ–आफ्ना सुझाव र जिज्ञासा प्रस्तुत गरेका थिए। कार्यक्रममा उठाइएका प्रश्नहरूको जवाफ दिँदै नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरपालिकाले हालसम्म गरेका विकासका काम, सेवा प्रवाहमा सुधारका प्रयास तथा आगामी योजनाबारे जानकारी गराउनुभयो। उहाँले नागरिकको सुझाव र आवश्यकतालाई नीति तथा कार्यक्रममा समेट्दै दीगो विकासको मार्गमा नगरलाई अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपप्रमुख कृष्णकुमारी निरौलाले सामाजिक विकास, शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकासम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँले नागरिकको सक्रिय सहभागिताबाट मात्र प्रभावकारी सेवा प्रवाह सम्भव हुने धारणा राख्नुभयो। नगर प्रमुख लावतीका अनुसार हिउँदे अधिवेशनको तयारीका क्रममा नगरपालिकाले विभिन्न टोल, वडास्तर र नागरिक समाजसँग सुझाव संकलन गरिरहेको छ। यसले आगामी नीति, कार्यक्रम तथा बजेट निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो। अन्तरक्रियाले स्थानीय सरकार र नागरिकबीच आपसी विश्वास, सहकार्य र संवादलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।