ताजा समाचार
समलाको विकासले लिँदैछ गति
समलाको विकासले लिँदैछ गति
लेटाङ । लेटाङ नगरपालिकाको वडा नं. ७ मा अवस्थित पर्यटकीय क्षेत्र समला मा पूर्वाधार विकासले तीव्रता लिँदै गएको छ। नगर प्रमुख भूपेन्द्रकुमार लावती ज्यूले समलामा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन भौतिक संरचनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ। समलामा करिब ५० लाख रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भई स्थानीयवासी तथा पर्यटकहरू लाभान्वित भएका छन्। यस्तै, करिब २० लाख रुपैयाँ लागतमा सिँढी निर्माण तथा सौन्दर्यकरणको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। समलालाई अझ आकर्षक र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थप सौन्दर्यकरणका लागि बजेट व्यवस्थापन गर्ने पहल भइरहेको नगरपालिकाले जनाएको छ।
यसैगरी, लेटाङबाट समला हुँदै ६ नम्बर बुधबारे–धनकुटा जोड्ने सडक कालोपत्रे गरी चालु आर्थिक वर्षभित्र समलासम्म पुर्याउने योजना रहेको छ। सडक पूर्वाधार सुदृढ भएसँगै समलामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै हाल समलामा निजी क्षेत्रबाट पनि होटल तथा लज निर्माणमा लगानी बढ्दै गएको छ, जसले स्थानीय रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा टेवा पुर्याउने विश्वास गरिएको छ। नगर प्रमुख लावती ज्यूले समलालाई लेटाङको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले निरन्तर प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो।