FAQs Complain Problems

संक्षिप्त परिचय

लेटाङ नगरपालिका क्षेत्र प्राचीन समयमा धिमालहरूको राजधानी थियो । खासगरी लेटाङ बजारको पश्चिममा रहेको चिसाङ खोला तरेपछि केही उत्तरतिर जाँदा पुगिने राजारानी पोखरी भएको ठाउँमा धिमाल राजाको दरबार थियो भन्ने किंबदन्ति छ । त्यसैले यस क्षेत्रका पुराना बासिन्दाहरुको धिमालको भाषाबाट लेटाङ नाम रहन गएको भनाइ छ । यहाँका आदिवासी धिमालहरू हुन् । लेटाङको नामकरण धिमाल भाषाको लेटा शब्दबाट भएको मानिन्छ । प्राचीन धिमाल भाषामा लेटाको अर्थ पहाडबाट झरेको समथर भूभाग भन्ने हुन्छ । धिमाल पोखरी भनेर चिनिने राजारानी डाँडाबाट हेर्दा हालको लेटाङ पहाडसँग जोडिएको समथर भूभाग देखिन्छ । त्यसैले त्यसलाई धिमालहरूले लेटा भने । त्यति बेला लेटा जङ्गलले भरिएको थियो । त्यही बेलाको लेटा शव्द उच्चारण गर्दै जाँदा कालान्तरमा अपभ्रंश भई लेटाङ भएको हुनुपर्दछ । त्यही आधारमा त्यस भूमिलाई लेटाङ भन्ने गरियो । त्यही लेटा अहिलेको लेटाङ बनेको हो भन्ने बुझाइ छ ।

लेटाङ नगरपालिका क्षेत्रको ऐतिहासिक पृष्ठभूमि खोजी गर्दा यो क्षेत्र प्राचीन प्राग्ज्योतिष राज्यभित्र पर्दथ्यो । पछि गएर यसबाट मत्स्यदेश अलग हुँदा लेटाङ भेग मत्स्यदेशमा पर्न पुग्यो । यदाकदा मिथिला, पुण्ड्र र किराँतहरूको अधीनमा पर्ने तथा यस भेगका स्थानीय शासकले शासन गर्ने कार्य गर्दै पछि यो क्षेत्र मुरेहांगको मोरङ भित्र पर्यो । यसैगरी विजयपुर राज्यको स्थापना भए पछि भने लेटाङ क्षेत्र विजयपुर कै अधीनमा रह्यो ।

तत्कालीन समयमा लेटाङ क्षेत्रलाई घना जङ्गलले ढाकेको थियो भन्ने गरिन्छ । यहाँका नदी किनारा भागमा केही जातजातिका मानिसहरूका स-साना वस्तीहरू थिए । घना जङ्गलका कारण मानिसले खोला या नदीको किनारा भाग तथा पहाडको फेदीमा बस्न आवश्यक थियो । लेटाङ भेगमा बेलाबेलामा पाइने पुराना बसोबासका अवशेषहरूले यसै कुराको सङ्केत गरेका छन् । लेटाङको आसपासमा यस्ता पुराना थुप्रै प्रकारका अवशेषहरू पाइएका छन् । तिनीहरू कतिपय नासिएका छन् भने कतिपय अझसम्म पनि उजागर हुन सकेका छैनन् ।

मोरङको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेनराजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी पूर्वको मकवानपुर लोहांगसेनले पाएको हुनाले यो भेग पनि मकवानपुर भित्र पर्यो । यसैगरी हरिहरसेनका नाति विधाता इन्द्रसेनले मकवानपुरबाट विजयपुरलाई अलग्गै राज्य बनाएको हुँदा लेटाङ लगायतको स्थान विजयपुरको अभिन्न अङ्ग बन्न पुग्यो । सेनकाल भन्दा अघि नै लेटाङको सिमाभन्दा केही पश्चिम उत्तरमा रहेको कसेनीमा धनपाल नामका एकजना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन्, जसलाई धनपालगढीका नामले चिनिन्छ । कालान्तरमा धनपाल रजौटाको पतन भयो । धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । वि.सं. १८३१ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेसँगै यो भूभाग पनि बृहत्तर नेपालमा गाभिएको पाइन्छ ।

वि.सं. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेदेखि नै हालको लेटाङ नगरपालिकाले ओगटेको क्षेत्र मोरङ जिल्लाको उत्तरी भागको रुपमा रहन पुग्यो । वि.सं. २०७१ सालमा लेटाङ र भोगटेनी गा.वि.स. मिलाएर लेटाङ भोगटेनी नगरपालिका बनाइयो । नेपालको संविधान २०७२ ले अङ्गीकार गरेको संघीय गणतन्त्र नेपालको राज्य पुनर्संरचना गर्दा स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार साविक लेटाङ भोगटेनी नगरपालिकाको १ नं. वडा बाहेक सबै, जाँते गाउँ विकास समितिका १,२,५,६,७,८ र ९ वडाहरू र वारङ्गी गाउँ विकास समितिको सम्पूर्ण वडाहरूलाई मिलाएर वि.सं. 2073/11/27 मा लेटाङ नगरपालिका बनाइएको हो ।

भौगोलिक अवस्थिति
लेटाङ नगरपालिका २६०  २०' देखि २६०  ५३' उत्तरी अक्षांश र ८७ १६' देखि  ८७ ४१' पूर्वी देशान्तरमा अवस्थित रहेको छ । मोरङ जिल्लाको उत्तरी भागमा दुई वटा गाउँपालिकासँग पूर्वी र पश्चिमी सीमाना जोडिएको लेटाङ नगरपालिकाको केन्द्र लेटाङ बजार हो । मोरङ जिल्लाको सदरमुकाम विराटनगरदेखि पूर्व उत्तरतर्फ ४९ किलोमिटरको दूरीमा पर्दछ । लेटाङ नगरपालिका नक्सामा हेर्दा उत्तरदक्षिण लाम्चो रहेको छ ।

लेटाङ नगरपालिकामा हाल ९ वटा वडाहरू रहेका छन् । यसको निर्माण गर्दाको समयको संरचना यसप्रकार रहेको छ । :

१. वडा नम्बर १ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर २, ३ र ४ लाई मिलाएर।

२. वडा नम्बर २ :– साविक लेटाङभोगटेनी नगरपालिकाको ५ र ६ नम्बर वडालाई मिलाएर ।

३. वडा नम्बर ३ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर ७ मात्र ।

४. वडा नम्बर ४ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर ८ मात्र ।

५. वडा नम्बर ५ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर ९ र १० मिलाएर ।

६. वडा नम्बर ६ :– साविक लेटाङभोगटेनी नगरपालिकाको वडा नम्बर ११ मात्र

७. वडा नम्बर ७ :– साविक बारङ्गी गाविसको १ देखि ९ नम्बर वडाहरूलाई मिलाएर ।

८. वडा नम्बर ८ :– साविक जाँते गाविसको १,२,५,६ र ७ नम्बर वडालाई मिलाएर ।

९. वडा नम्बर ९ :– साविक जाँते गाविस ८ र ९ नम्बर वडालाई मिलाएर ।

लेटाङ नगरपालिकाको कार्यालय पुग्नका लागि जिल्लाको सदरमुकाम विराटनगरबाट उत्तर इटहरी वा पुष्पलालचोकबाट विराटचोक हुँदै कानेपोखरी र त्यसबाट उत्तरतर्फ ८ किलोमिटर जानुपर्दछ । यस नगरपालिकामा तराई भू-भाग तथा बाह्रैमास चिसो हुने महाभारत पर्वत श्रेणी समेत पर्दछ । भौगोलिक विषमता यस नगरपालिकाको मुख्य विशेषता हो । मोरङ जिल्लाको एक महानगरपालिका र आठ नगरपालिकाहरू मध्ये पहाडी भूभागलाई समेत समेटर यो नगरपालिका बनेको छ ।

नगरपालिकाको सिमाना पूर्वमा मिक्लाजुङ गाउँपालिका, पश्चिममा केराबारी गाउँपालिका, उत्तरमा धनकुटा जिल्लाको चौबीसे गाउँपालिका एवम् दक्षिणमा मोरङको चार वटा स्थानीय तह बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाउँ पालिका र उर्लाबारी नगरपालिकासँग सीमाना जोडिएको छ । नगरपालिकाको भौगोलिक परिवेश फरक भए तापनि सीमाना जोडिएका छिमेकी पालिकासँग प्रतिस्पर्धात्मक रुपमा विकास निर्माणका कार्य गर्नुपर्ने अवस्था रहेको छ ।

तराई,चुरे क्षेत्र हुँदै महाभारत पर्वतश्रेणी सम्म फैलिएको यस नगरपालिकाको भू–उपयोगको अवस्थामा अधिकांश भूभाग कृषि क्षेत्र र वनले ओगटेको छ ।वि.सं. २०७८ को जनगणना अनुसार यस नगरपालिकाको जनसङ्ख्या ३८१५२ जना रहेको छ । यसको क्षेत्रफल २१९.२३ वर्ग कि.मि. रहेको छ । यहाँको जनघनत्व १७४ जना जनसंख्या प्रतिवर्ग किलोमिटर रहेको छ । हाल लेटाङ नगरपालिकाले नगरप्रोफाईलका निम्ति गरिएको स्थलगत सर्वेक्षण २०८० अनुसार यस नगरपालिकामा ८६६४ घरधुरी र जनसंख्या ३८११७ रहेको देखिन्छ । हाल जनघनत्व प्रति वर्ग किरलोमिटर १७३.८६ भएको छ । यस आधारमा विश्लेषण गर्दा लेटाङ नगरपालिका मोरङ जिल्लाका नौ नगरपालिकाहरू मध्ये सबै भन्दा कम जनसंख्या र कम जनघनत्व भएको नगरपालिकामा पर्दछ ।

लेटाङ नगरपालिकाले मोरङ जिल्लाको कुल जनसंख्या ११४८१५६ को ३.३२ प्रतिशत अंश (जनगणना २०७८ अनुसार) र कुल क्षेत्रफल १८५५ वर्ग किलो मिटरको ११.८२ प्रतिशत भूभाग ओगटेको छ ।

१. राजनैतिक तथा प्रशासनिक सिमानाः

                    पूर्वतर्फ :               मिक्लाजुङ गाउँपालिका

                    पश्चिमतर्फ :            केराबारी गाउँपालिका

                    उत्तरतर्फ :             धनकुटा जिल्लाको चौविसे गाउँपालिका

                    दक्षिणतर्फ :            पथरीशनिश्चरे नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिका

२. राजनैतिक तथा प्रशासनिक विभाजनः

                    निर्वाचन क्षेत्र नं. :      १(ख)

                    वडाहरू :                ९ वटा

                    जिल्ला :                  मोरङ

                    प्रदेश :                    कोशी

थप जानकारीको लागि https://letangmun.gov.np/ne/publications मा रहेको नगर पार्श्वचित्र हेर्नुहोस् ।