ताजा समाचार
लेटाङ नगरपालिका र नेपाली सेनाको सहकार्यमा लेटाङ–४ को सडकमा हरियाली र सुन्दरता थपियो।
लेटाङ नगरपालिका र नेपाली सेनाको सहकार्यमा लेटाङ–४ को सडकमा हरियाली र सुन्दरता थपियो।
लेटाङ, ९ माघ । लेटाङ नगरपालिका–४ मा रहेको आर्मी क्याम्प उत्तरतर्फको सडकलाई आकर्षक र व्यवस्थित बनाउने उद्देश्यसहित सडक सौन्दर्यकरण कार्य सम्पन्न गरिएको छ। वडा कार्यालय लेटाङ–४ र नेपाली सेना पूर्वी पृतना तालिम शिक्षालय, लेटाङको संयुक्त आयोजनामा उक्त कार्य सम्पन्न भएको हो। लेटाङ–४ वडा कार्यालयको आर्थिक सहयोग तथा नेपाली सेनाको सक्रिय श्रमदानमा सडक सौन्दर्यकरण अघि बढाइएको वडाले जनाएको छ। नगरपालिकाले बालउद्यानदेखि घिमिरे चौकसम्मको सडक कालोपत्रे तथा सडक बत्ती जडान गरेपछि थप सौन्दर्यकरणका कार्यक्रम सञ्चालन गरिएको हो। सौन्दर्यकरण अन्तर्गत सडक छेउमा नाला निर्माण, घेराबार, कंक्रिटका गमला निर्माण गरी विभिन्न प्रजातिका फूलहरू रोपिएको छ। साथै सडकको दुवैतर्फ हरियाली र सौन्दर्य वृद्धि गर्न अशोकका बिरुवासमेत रोपिएको वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, नेपाली सेना तालिम शिक्षालयका प्रमुख सरोज कार्की, वडाध्यक्षहरू भुमसूर्य मगर, रामकुमार श्रेष्ठ, डम्बर राईलगायत जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।